27 November, 2011

नेपाल र भारतबीच दोहोरो कर हटाउने सम्झौतामा हस्ताक्षर

काठमाडौं, ११ मंसीर । नेपाल र भारतबीच दोहोरो कर हटाउने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री वर्षमान पुन र उनका भारतीय समकक्षी प्रणव मुखर्जीले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौतापछि मुखर्जीले भारत जी-२० को सदस्य राष्ट्र भएकाले ओईसीडी मोडलमा सम्झैता गरेको बताए । सम्झौतामा हस्ताक्षर गर्न मुखर्जी आइतबार ११ बजे काठमाडौं आएका हुन् ।



सम्झौतामा हस्ताक्षर पछि दुई देशमध्ये कुनै एकदेशमा आयकर बुझाएपछि त्यति नै रकमको कर अर्को देशमा बुझाउनु पर्दैन । त्यस्तै, विद्यार्थीहरुले पाउने छात्रवृति तथा शोधका लागि पाउने रकममा ६ वर्षसम्म आयकर नलाग्ने व्यवस्थामा समेत हस्ताक्षर भएको छ । अर्थमन्त्री पुनले दोहोर करसम्बन्धि यस्तो सम्झौता भारतसँगै अन्य १० देशसँग पनि भएको जानकारी दिए ।

प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भम्रणका क्रममा दोहोरो कर हटाउने सम्झौतामा हस्ताक्षर हुने भनिए पनि भारतका तर्फबाट आवश्यक तयारी नभएकाले सम्झौतामा हस्ताक्षर हुन सकेको थिएन । मुखर्जीले नेपालमा रहँदा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा राष्ट्रपतिसँग समेत भेट गर्ने कार्यक्रम छ ।

0 comments: