01 December, 2011

दुई केन्द्रीय सदस्य लडाकु बन्न इच्छुक, नेताका छोराछोरी भने स्वेच्छिक अवकाश


काठमाडौँ, १५ मंसीर । माओवादीले केन्द्रीय नेतृत्वमा रहेका कसैलाई पनि समायोजनमा नपठाउने निर्णय गरे पनि दुई केन्द्रीय सदस्यका हकमा भने उक्त निर्णय लागू नहुने सम्भावना देखिएको छ । माओवादी उच्च सूत्रका अनुसार पार्टी केन्द्रीय सदस्यसमेत रहेको सातौँ र तेस्रो डिभिजन कमान्डहरूले पनि सेनामा समायोजन हुने भन्दै पार्टी नेतृत्वको घर धाउन थालेपछि यस्तो सम्भावना देखिएको हो ।

माओवादीले यसअघि पार्टी केन्द्रको निर्णय भन्दै केन्द्रीय सदस्य पदमा रहेका कुनै पनि कमान्डरहरूलाई समायोजन प्रक्रियामा सहभागी नगराइने जानकारी गराएको थियो । तर, सेनामा समायोजन हुँदा केही महत्वपूर्ण पदहरू पनि पाउने भएपछि उक्त पदमा समायोजित हुन केन्द्रीय सदस्यसमेत रहेका कमान्डर लालायित भएका हुन् ।
पार्टी केन्द्रीय सदस्य भए पनि सेनामा समायोजन हुन चाहने लडाकु कमान्डरमध्ये तेस्रो डिभिजनका धनबहादुर मास्के र सातौँ डिभिजनका सन्तु दराई रहेका छन् । पार्टीमा सुरुदेखि नै सेनाको भूमिकामा रहेकोले उनीहरू पछि पनि सेना नै बन्ने इच्छा भएर समायोजन प्रक्रियामा जान चाहेका हुन् ।

एकीकृत माओवादी अध्यक्ष प्रचण्डले विभिन्न अस्थायी शिविरका कमान्डरहरूलाई राजधानीमा बोलाई लडाकुहरूलाई सेनामा समायोजनको प्याकेज रोज्न लगाउन चेतावनी शैलीमा उर्दी नै जारी गरे । माओवादी उच्च स्रोतका अनुसार अध्यक्ष प्रचण्डको ठाडो निर्देशनका कारण धेरै लडाकुले समायोजन प्रक्रियामा सामेल हुने भन्दै सोहीअनुसार फारम भरेका हुन् ।

पार्टी अध्यक्षको ठाडो निर्देशनअनुसार शिविरमा रहेका सर्वसाधारण जनताका छोराछोरीले समायोजन प्रक्रिया रोजे पनि अध्यक्ष प्रचण्डकै पुत्र प्रकाश दाहाल भने स्वेच्छिक अवकाश लिने निर्णयमा पुगेका छन् । अनमिनद्वारा लडाकु प्रमाणित प्रचण्डपुत्र प्रकाश बाबुकै आदेशअनुसार स्वेच्छिक अवकाशमा जाने भएको प्रचण्ड निकट सूत्रले बतायो । सूत्रका अनुसार कुनै दैविक चमत्कार भए मात्र प्रकाश समायोजन प्रक्रियामा सामेल हुनेछन् नत्र भने उनी आफ्नो भागमा पर्ने ६ लाखभन्दा बढी रकम लिएर लडाकुबाट अवकाश लिनेछन् ।

अध्यक्ष प्रचण्डले आफ्नो पुत्र प्रकाशलाई मात्र होइन अधिकांश नेताका छोराछोरीलाई स्वेच्छिक अवकाशमा जान सल्लाह दिएका छन् । सोहीअनुसार माओवादी नेताका छोरोछोरी जो लडाकुका रूपमा परिचित छन् ती सबैले राज्यबाट रकम लिएर स्वेच्छिक अवकाश लिने भएका हुन् ।

माओवादी सचिव एवम् ऊर्जामन्त्री पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीले पनि स्वेच्छिक अवकाश लिने भएकी छिन् । लडाकुका लागि राज्यले दिँदै आएको मासिक तलब–भत्ता बुझ्दै आएकी प्रभा गत वर्षबाटै पत्रकारिता क्षेत्रमा लाग्दै आएकी छिन् । अध्यक्ष प्रचण्डकी पूर्वबुहारीसमेत रहेकी प्रभा अहिले एक निजी टेलिभिजनमा समाचारदाता एवम् समाचारवाचिकाको रूपमा काम गर्दै आएकी छिन् । पत्रकारिता क्षेत्रमा नै आफ्नो भविष्य बनाउनका लागि स्वेच्छिक अवकाश लिएको उनले प्रतिक्रिया दिएकी छिन् ।

माओवादी लडाकु प्रमुख नन्दकिशोर पुन पासाङका कान्छो छोरा दिपेशले पनि स्वेच्छिक अवकाश रोजेका छन् । उनले आफ्नो बाबुको सल्लाहमा नै उक्त विकल्प रोजेका हुन् । पासाङका जेठा छोरा जितेन्द्रले भने समायोजन रोजेका छन् । सूत्रका अनुसार पासाङका दुवै छोराले स्वेच्छिक अवकाश रोज्दा नराम्रो सन्देश जाने भएकाले जेठो छोरालाई समायोजन प्रक्रिया रोज्न लगाइएको हो । 'तर, पछि समायोजन हुने सङ्ख्यामा ६५ सयभित्र नपारेको भन्दै उनलाई पनि स्वेच्छिक अवकाश लिन लगाइनेछ,' पार्टीका एक केन्द्रीय नेताले जानकारी दिए ।

माओवादीका अर्का नेता कृष्णबहादुर महराका छोरा एटम पनि स्वेच्छिक अवकाश लिने सोचाइमा छन् भने प्रचण्डनिकट सभासद् कालिबहादुरका छोरा अभिजंगले पनि स्वेच्छिक अवकाश रोजेका छन् । स्रोतले भन्यो, 'यी त उदाहरण मात्र हुन्, माओवादीका केन्द्रीय मात्र होइन जिल्लास्तरका नेताका छोराछोरीले समेत समायोजन नभई स्वेच्छिक अवकाश रोजेका छन् ।' राज्यबाट पैसा पनि पाइने र आफ्ना पिताका आडमा समाजमा दबाबपूर्ण राजनीति पनि गर्न पाइने भन्दै अधिकांश नेताका छोराछोरीले स्वेच्छिक अवकाश लिएका हुन् ।

0 comments: