25 November, 2011

साझा प्रकाशन महाप्रबन्धक ममता झा हिसिलाको शरणमा

काठमाडौं, ९ मंसीर । झण्डै दुई हप्ता हुन लाग्यो साझा प्रकाशनकी महाप्रबन्धक ममता झालाई कृषि मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाप्रबन्धकको हैसियतमा काम नगर्नु भनेको । तर ममता पहिले जसरी अहिले पनि कार्यालय जान्छिन्, हाजिर गर्छिन् । बैठक गरेर निर्णय गर्छिन् । उनलाई कसैले रोकतोक गर्न सकेको छैन ।

अख्तियारले पठाएको पत्र पनि उनले बुझ्न मानिनन् । प्रहरीले जबर्जस्ती पत्र त थमायो, तर उनलाई त्यसले केही छोएको छैन । ‘उनको चुरीफुरी झन् बढिरहेको छ’ साझाको सञ्चालक समितिका एक पूर्व सदस्यले भने -’साझामा अहिले झन् अनियमितता र भ्रष्टाचार मौलाएको छ ।’



भवन निर्माण, गाडी र कागज खरिदमा अनियमितता भएको आशंका अख्तियारले कार्वाही अगाडि बढाएको हो । पछि कृषि मन्त्रालयले पनि काम नगर्न निर्देशन दियो । तर महाप्रबन्धक झा उसैगरी काम गरिरहेकी छिन् ।

ममता झा अढाई वर्षअघि मधेसी जनअधिकार फोरमको सिफारिसमा साझा प्रकाशनको महाप्रबन्धक नियुक्त भएकी हुन् । त्यो बेला उनी विजयकुमार गच्छदारकी प्रिय पात्र थिइन् । गच्छदारले नयाँ पार्टी खोलेपछि उनी उपेन्द्र यादवतिर ढल्किन् । त्यहाँ पनि चित्त बुझेन । त्यसपछि उनी जयप्रकाश प्रसाद गुप्तासित नजिक हुन थालिन् । त्यहाँ पनि अट्न नसकेपछि झाको छटपटी बढ्यो ।

बाबुराम भट्टराई प्रधानमन्त्री भए लगत्तै ममतालाई हिसिला मोहले छोयो । त्यसपछि उनी हिसिलाको पछि लाग्दै माओवादी बनेकी छिन् । ‘त्यसैले अख्तियार र मन्त्रालयको निर्देशन समेत अटेर गर्ने आँट उनमा आएको हो’ एक सर्जकले भने । यस्तो छ भाँडभैलो लामो इतिहास बोकेको साझा प्रकाशनभित्र प्रायः विवाद भैरहन्छ । कहिले पुस्तक छपाईमा अनियमितता र पक्षपात गर्ने गरेको आरोप त कहिले भ्रष्टाचार र अनियमितताको चर्चा ।

पछिल्लो पटक साझामा भ्रष्टाचार काण्ड ह्वात्तै मौलाएको छ । नयाँ भवन निर्माण तथा कागज र गाडी खरिदमा भ्रष्टाचार भयो भनेर सबैले महाप्रबन्धक झामाथि औंला ठड्याएका छन् ।

अनियमितता र भ्रष्टाचारको गन्ध धेरै आउन थालेपछि साझाकै कर्मचारी बिरोधमा उत्रिए । बिरोध सामसुम पार्न झा नजिकका सञ्चालक समिति सदस्य नयनराज पाण्डेले साझामा सुधार ल्याउनुपर्छ भन्दै अनसन पनि बसे । त्यो अनसन काण्ड त्यत्तिकै सेलायो । अहिले पाण्डेमाथि पनि कर्मचारी खनिएका छन् । कर्मचारीको बिरोधपछि पाण्डे हिजोआज कार्यालय जाँदैनन् ।

पहिलेदेखि नै अनियमिताको बिरोध गर्दै आएका अनिल पाण्डे पनि कार्यालय जान छाडेको धेरै भयो । महाप्रबन्धक झालाई अहिले सञ्चालक समिति सदस्य हरिगोबिन्द लुईंटेलको मात्र साथ रहेको बुझिन्छ । भ्रष्टाचारकाण्ड धेरै चर्किन थालेपछि अख्तियार र कृषि तथा सहकारी मन्त्रालयले अनुसन्धान पनि गरिरहेका छन् । तर साझामा अनियमितता भएको उनी स्वीकर्दैनन् । ‘सबै प्रकृया टेण्डरमार्फत नै भएको र यसमा कुनै भ्रष्टाचार या अनियमितता भएको छैन’ महाप्रबन्धक झाको दावी छ ।

महाप्रबन्धक झाले स्वीकार नगरे पनि साझामा अनियमितता छ भनेर त्यहींभित्रका कर्मचारीहरु भन्छन् । सञ्चालक समितिका एक सदस्यका अनुसार नयाँ भवन निर्माण र कागज खरिदमा त्यहाँ करोडौको अनियमितता भएको छ । ‘साझामा पहिले पनि अनियमितता हुन्थ्यो, तर झा आएपछि यो अनियमितता दुई सय प्रतिशतले बढेको छ’ साझाका एक पूर्व सञ्चालक समिति सदस्यले भने ।

0 comments: