11 November, 2011

देश विकासका लागि प्रवासीहरुले सक्दो योगदान दिनुपर्ने

योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, २४ कार्तिक । नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य अरुण नेपालले देश विकासलाई नयाँ गति दिन प्रवासमा रहेका नेपालीहरुले सक्दो योगदान दिनुपर्ने कुरामा जोड दिएका छन् । आज लिस्बोन, पोर्तुगलको होटेल रोममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सातबुँदे सहमतिपछि शान्तिप्रक्रियाले मूर्त रुप लिने निश्चित भएको कुरा पनि बताए ।




'वर्तमान सरकार कति टिक्ने वा सहमतिको सरकार गठन हुने-नहुने कुरा सरकारकै भूमिकामा भर पर्छ ।' नेपालले भने, 'सरकार गठनका लागि भएको ४ बुँदे सम्झौता, आलोचित बिप्पा सम्झौता, जम्बो मन्त्रीमण्डल, सर्वोच्च अदालतले हत्या आरोपमा आरोपी सभासद् बालकृष्ण ढुंगेललाई जन्म कैदको फैसला सुनाएको परिप्रेक्षमा चोख्याउने निर्णय, आन्दोलनपीडितलाई राहतको नाममा आफ्ना कार्यकर्तालाई पोस्ने, सस्तो लोकप्रियताका लागि मुस्ताङ गाडी चढ्ने, होटेल रेष्टुरेण्टको चर्पी र भन्सामा छड्के गर्नेजस्ता गतिविधिले भट्टराई सरकार आफैलाई समस्या पर्नेछ ।'

परशुरामलाई जोगाउने महेश बस्नेतले भने कानुनी शासनलाई ठाडो चुनौति दिएको विषयको बचाऊ गर्दै 'बस्नेतले त्यस्ता अभिव्यक्ति नदिएको' नेपालले बताएका छन् । पार्टीलाई बदनाम गराउन नानाभांतिका प्रपन्च रचिएको उनको कथन थियो ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवं युवा नेता योगेश भट्टराईले देशमा राजनीतिक अस्थिरता, बेरोजगार र नातावादका कारण लाखौ युवाहरु विदेशिनु परेको तितो यथार्थ सम्झदा दुख लाग्ने गरेको बताए । अबको ६ महिनाभित्र संविधान तयार हुने उनको अनुमान थियो । एक फरक प्रसंगमा भट्टराईको कथन थियो : 'गुटबन्दीका कारण अस्थिरता बढिरहेको वास्तविकता हो । तर एमाले र कांग्रेसकोभन्दा माओवादीको आन्तरिक द्वन्द्व फरक रहेको छ । शान्ति प्रक्रियामा यसले असर पुर्‍याउन सक्छ ।' नेताद्वय नेपाली लोकतान्त्रिक मंच पोर्तुगल, जर्मनी, बेल्जियम र नेदरल्याण्डको कार्यक्रमहरुमा युरोप यात्रामा आएका हुन् ।

यसैगरी यही अक्टुबर ८ देखि १२ सम्म पोर्तुगलको लिस्बोनमा विश्व प्रजातान्त्रिक युवा संघको सम्मेलन भइरहेको छ । पचासभन्दा बढी मुलुकका ८६ संगठनहरुको सहभागिता रहेको सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । अध्यक्ष पदमा नेपालको युथ फेडेरेशन र साइप्रसको एदान प्रतिष्पर्धा गर्दैछन । नेपाल बहुमतसहित विजयी बनेमा संघका वर्तमान उपाध्यक्ष योगेन्द्र शाहीले नेतृत्व गर्ने छन् । संघले विश्व शान्तिकालागि पहल गर्ने, साम्राज्यवादी हस्तक्षेपको विरोध गर्ने र युवाहरुको सहभागितामा जोड दिन अभियानहरु चलाउने गर्दछ । सम्मेलनमा युवा संघ अध्यक्ष महेश बस्नेत, अखिल अध्यक्ष माधव ढुंगेल, झपट रावल, राजिव पहाडी, ऐन महर, अरुणदेव जोशी, सीपी घर्ती मगर र पदम भट्ट सहभागी छन् ।

0 comments: