09 November, 2011

निराधार हल्लाहरुको भ्रममा नपर्न एनआरएनको आव्हान


योगेन्द्रमिलन छन्त्याल, १७ कार्तिक, लिस्बोन । पोर्तुगलमा अनर्गल अफवाहहरुले नेपाली समुदायमा त्रासको वातावरण सिर्जना भएकोमा यस्ता असत्य कुराहरुप्रति सचेत रहन गैह्र आवासीय नेपाली संघ (एनआरएन) ले स्पष्ट पारेको छ । आज संघको कार्यालयमा भएको छलफलमा सबै नेपालीहरुलाई निराधार हल्लाहरुको भ्रममा नपर्न आव्हान गरिएको हो ।



केही दिनअघि लिस्बोनबाट सामान्य कारणवश प्रहरी अनुसन्धानमा रहेका दुईजना युवाहरु सुरेश थापा र विश्व निरौलाको वकालतका लागि सम्बन्धित अधिवक्ताले माग गरेको ६ सय युरो हाललाई सापटीस्वरुप संघले उपलब्ध गराउने र उनीहरुलाई आवश्यक कामको सम्झौता पत्र जस्मिन बुद्ध कम्पनीबाट मिलाउन पहल गर्ने निर्णय भएको छ ।

विगत ५ वर्षदेखि पोर्तुगलमा रही नेपाल फर्कन चाहनुभएका नशाको समस्याबाट पीडित खुदी गाविस - ३, लमजुङका शिवबहादुर गुरुङलाई यात्रा र उपचार खर्चका लागि आर्थिक सहयोग गरिदिनका लागि पनि संघले अनुरोध गरेको छ । गुरुङले पोर्तुगलको सामाजिक सुरक्षा कोषमा ४५ महिनाको कर बुझाएको बताउनुभएको छ । 'आवश्यक सेन्जेङ प्रवेशाज्ञाको अभावमा पोर्तुगलमा लामो समय रहँदा पनि यहाँ बस्नका लागि समस्या भएकोले नेपाल फर्कन चाहेको हुँ ।' गुरुङले भन्नुभयो, 'आर्थिक अवस्था कमजोर भएकोले यात्रासहित उपचार खर्च पनि जुटाइदिए आभारी हुने थिएँ ।'

संघका वरिष्ठ उपाध्यक्ष डिलाराम चापागाइँका अनुसार सबै विदेशी मूलका नागरिकहरुलाई प्रहरीबाट चेकजाँच बढेकाले समूहमा नहिड्न र परिचय खुल्ने सक्कल कागजातहरु साथमा लिइ हिड्दा राम्रो हुनेछ । कोषाध्यक्ष सुरेन्द्र अम्गाइँ पनि नेपाली मात्रैलाई कडाइ नभइ सबै विदेशीलाई उस्तै अवस्था रहेको बताउनुभएको छ । बङ्गलादेशका मोहम्मद अरबिन पनि हामीसँग हिन्दी भाषामा कुरा गर्दै अचेल प्रहरीको चेकजाँच बढेको र कागजी प्रक्रियामा अलिकति ढिलाइ गरेको कुरा स्वीकार्नु हुन्छ । अरबिन भन्नुहुन्छ : 'निर्णायक तहमा आत्तिनै पर्ने कुनै निर्णय भएका चाहि छैनन् ।'

0 comments: